पोखरामा प्याराग्लाइडिङको सोलो उडान खुलाउन व्यवसायीको माग
पाेखरा | भदौ २५, २०८१
कास्की: पोखराका पर्यटन व्यवसायीले दुई वर्षदेखि बन्द रहेको यहाँ सञ्चालित प्याराग्लाइडिङको सोलो (एकल) उडान खुलाउन माग गरेका छन् ।
प्याराग्लाइडिङको सोलो उडान बन्द हुँदा विभिन्न देशबाट आउने पर्यटक निरास भएकाले यसको असर पर्यटन क्षेत्रमा परेको व्यवसायीको भनाइ छ । प्याराग्लाइडिङको सोलो उडान प्रतिबन्ध भए पनि व्यावसायिक उडान भने भइरहेको छ ।
नेपाल हवाई खेलकुद संस्था(ना)को २१औँ वार्षिक साधारणसभा तथा १०औँ अधिवेशनका अवसरमा आज आयोजित कार्यक्रममा पर्यटन व्यवसायीले उडान बन्द हुँदा नेपाली प्राविधिक खेलाडीको सीप क्षमता विकासमा असर पुगेको बताउनुभयो ।
पोखरामा विसं २०७९ असोज अन्तिममा नवौँ राष्ट्रिय खेलकुदको दौरान ग्लाइडर दुर्घटनामा एक जना खेलाडीको मृत्यु भएपछि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले अनिश्चितकालका सोलो उडानमा प्रतिबन्ध लगाएको थियो ।
नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनीलबहादुर भट्टराईले विभिन्न देशबाट सोलो उडानका पारखीहरु हरेक वर्ष पोखरा आउने गरे पनि अहिले आउन नपाएको बताउनुभयो ।
उहाँका अनुसार नेपाली पाइलटले प्याराग्लाइडिङको अभ्यास गर्न पाएका छैनन् । अध्यक्ष भट्टराईले उडान खुला गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग निरन्तर माग गरे पनि पूरा नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पोखरा पर्यटनको राजधानी घोषणा भइसकेको अवस्थामा सोलो उडान खुला गरेर पर्यटकीय गतिविधिहरु वृद्धि गर्नुपर्दछ भनेर माग गरिराखेका छौँ ।”
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बन्द भएको प्याराग्लाइडिङको एकल उडान खुलाउनुको विकल्प नभएको बताउनुभयो । “पोखरा पर्यटन राजधानी घोषित भएको छ । त्यसैले पनि यहाँ आउने पर्यटकलाई धेरैभन्दा धेरै सुविधा र पर्यटकीय गतिविधिहरुमा सहभागी गराउनुपर्दछ । सोलो उडानबाट पर्यटन विकासमा मद्धत पुग्नेछ”, पहारीले भन्नुभयो ।
गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले व्यवसायीको माग पूरा गर्न सरकारले पहल गर्ने बताउनुभयो । उडान खुला गर्नका लागि नागरिक उड्डयन प्राधिकरणसँग छलफल गरिने उहाँले विश्वास दिलाउनुभयो ।
“पोखराको पर्यटनका लागि प्याराग्लाइडिङको धेरै महत्व छ । सोलो उडानलाई थप व्यवस्थित बनाउँदै प्रतिबन्ध हटाउने विषयमा सरकारले ध्यान दिनेछ”, मन्त्री थापाले भन्नुभयो ।
विगतमा सराङकोट र तोरीपानीबाट प्याराग्लाइडिङ उडान हुँदै आएकामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि सो क्षेत्रबाट विस्थापित भएर मान्द्रेढुङ्गाबाट उडान र पामेमा अवतरण क्षेत्र तोकिएको थियो ।
मान्द्रेढुङ्गा टाढा भएको र पर्यटकको आकर्षण घटे पनि व्यवसायीको मागअनुसार पुनःकेही समयपछि तोरीपानीबाट उडान हुँदै आएको छ । नेपाल हवाई खेलकुद संस्थामा हाल ६२ वटा प्याराग्लाइडिङ व्यावसायिक कम्पनी र पाइलट तीन सय ९९ जना आबद्ध छन् ।
पोखरा: नेसनल प्याब्सन कास्कीले विविध कार्यक्रमको आयोजना गरि आइतबार २७ औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसर पारेर स्थापना वर्षको आधारमा विद्यालयहरू सम्मान, एस.ई.ई. २०८१ मा सतप्रतिशत व...
पोखरा: कास्की आइडलको गायनतर्फको उपाधि रोजिता घताने र नृत्यतर्फको उपाधि शिखा पुनले हात परेका छन् । रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा शनिवार सम्पन्न गायन तथा नृत्य प्रति...
काठमाडौं: २०८२ साल फागुन २१ मा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बन्दसूचीमा समावेश भएका उम्मेदवारले सोमबार नाम फिर्ता लिन सक्ने बताइएको छ। समानुपातिक निर्वाचन प्रणालीका निर्वाचन अधिकृ...

